Interveiw of peace minister barshaman pun By Bp Sah - Bp sah

Latest

Journalist


Rising sun, Rising life

Rising sun, Rising life

Friday, April 15, 2011

Interveiw of peace minister barshaman pun By Bp Sah

वार्तामा नआउनेलाई कडा कानूनी कारवाही गर्छौं–वर्षमान पुन, शान्ति तथा पुनर्निर्माण मन्त्री

० तराईमा सशस्त्र गतिविधि बढनुको कारण के होला ?
- तराईमा सशस्त्र गतिविधि हुनुका तीनवटा आयामहरू छन् । एउटा साँचिकै तराई या मधेश स्वायत्तताको लागि, त्यहाँका जनताहरू राज्यबाट उत्पीडित छन्, विपन्न, बेरोजगार, राज्यमा कुनै पहुँच छैन । त्यसैले तराई–मधेशका जनताको काठमाडौंमा पनि भूमिका हुनुप¥र्यो साथै आफ्नो ठाउँमा पनि स्वायत्तताको अधिकार पाउनुप¥यो भनेर सशस्त्र गतिविधिमा केही समूहहरू पनि केही छन् । केही व्यक्तिहरू यस्ता छन् जसले पहिले अपराध, लुटपाट, बलात्कार, चन्दा असूलने, धम्काउने, अपहरण गर्ने अनि कानूनबाट बच्नलाई एउटा ब्यानरको सहारा लिने र वक्तव्य दिने जस्ता अपराधिक समूहहरू छन् । तेस्रो कुरा जो राजनीतिक घटनाक्रमसँग जन्मिने र हराउने हो । यिनीहरूलाई नियोजित रूपले कुनै न कुनै शक्ति केन्द्रले चलाएको छ । पछिल्लो समयमा जो गतिविधि भएको छ त्यो अनपेक्षित छ ।
० किटेरै भन्नुपर्दा अपराधिक गतिविधिमा संलग्न भनेर कसलाई भन्नुहुन्छ ?
- अहिले सबै नेपाली जनतालाई थाहा छ, नीतिनिर्माण तहमा भएकालाई र मिडियालाई पनि थाहा छ । त्यसैले नाम किटिराख्नु भन्दा पनि मौसमी रूपमा देखापर्नेहरूलाई मौसमी रूपमै लिनुपर्छ, अपराधिक गतिविधि गरेर राजनीतिक कभर लिनेलाई कानून सम्मत ढंगले नै व्यवहार गर्नुपर्छ । राजनीतिक उद्देश्य र व्यवहार गर्नेलाई राजनीतिक रूपमा वार्ता गरेर राजनीतिक मूलधारमा ल्याउनुपर्छ

० तपाईहरूले जुन वार्ताको आह्वान गर्नुभयो त्यो यसपालि हुन्छ त ?
-  पहिले हाम्रो सरकार छँदा शान्तिमन्त्री जनार्धनज्यू हुँदा उहाँले निकै प्रयास गर्नुभएको थियो । सशस्त्र गतिविधि गर्ने थुप्रै समूहहरू वार्तामा आएका थिए, आफ्ना गतिविधिहरू रोकेका थिए र त्यसपछि राजनीतिक व्यवहार गर्दै आएका थिए । राजनीतिक उद्देश्यले जन्मेका समूहहरू कुनै बेला आवेशमा जन्मेका हुन सक्छन्, कुनै बेला केन्द्रमा अनुपयुक्त सरकार देखेर जन्मेको हुन सक्छन् त्यसैले ती सबैलाई हामीले राजनीतिक रूपमा सम्बोधन गर्न चाहन्छौं । अहिले नेपाल सरकार विभिन्न सशस्त्र संघर्ष गरिरहेका राजनीतिक समूहहरूसँग सकारात्मक छ । सरकार स्वायत्तता, संघीयता र समावेशिताको मागको लागि आफै सकारात्मक रूपले लगिरहेको छ । हामी सशस्त्र समूहहरूलाई वार्तामा ल्याएर शान्तिपूर्ण ढंगले अगाडि बढाउन सक्छौं । यो भन्दा अगाडिको सरकार त्यस्तो थिएन, बल मात्रै प्रयोग गर्ने, संघीयता, स्वायत्तता, स्वशासनको विरोधी भएको हुनाले हतियारले नै समस्या समाधान गर्न खोजिरहेको थियो ।
० वार्तामा आउन नचाहने समूहहरूलाई के गर्नुहुन्छ त ?
- राजनीतिक समूह हो भने हामी प्रयत्न गरिरहन्छौ । कानूनी रूपले शान्तिसुरक्षाको व्यवस्था मिलाउँदै धनजनको क्षति नहुने व्यवस्था मिलाउँदै वार्ताको प्रयत्न गर्छौं । हाल सम्पर्कमा आएका समूहहरू हेर्दा राजनीतिक गतिविधिमा संलग्न  रहेको देखिन्छ । आउँद–आउँदैन भन्ने कुरा उपयुक्त हैन, कनै न कनै हिसाबबाट आउनै पर्छ । किनभने संविधान र शान्तिको लागि सरकार प्रतिबद्ध छ । मधेश र मधेशीहरूको हित हेर्न र प्रतिनिधित्व गर्न सक्ने सरकार छ अहिले, नआउने कुनै कारणै छैन । त्यसैले सबै समूहहरू आउँछन् । यदि आउँदैनन् भने कानूनी रूपले कारवाही गरेर वार्तामा ल्याउने प्रयत्न गर्छौं ।
० अखिल तराई मुक्ति मोर्चा गोइत समूहले तपाईहरूसँग वार्ता नै गर्दैनौ भन्ने कुरा आएको छ नि ?
- उहाँले वार्ता नै नगर्ने भने पनि हामीले प्रयत्न गर्ने कुरा हो । उहाँले राज्यको नियम कानून उल्लंघन गर्नुभयो भने त्यहिं हिसाबले व्यवहार गर्छौं ।
० उहाँहरूले स्वतन्त्र तराई राष्ट्रको माग राख्नभएको छ त्यो विषयमा के छ तपाईहरूको धारणा ?
-  त्यो असम्भव कुरो हो । गोइतजी सँग मेरो राम्रोसँग चिनजान छ । उहाँको मानसिकता के हो भन्ने करा राम्रो सँग बुझेको छु । हुनत उहाँ बृद्ध अवस्थामै पुग्नुभएको छ र स्वास्थ्य पनि कमजोर छ । एउटा झण्डा उठाइराखौं, भोली कसैले यो झण्डा अगाडि बढाउँला भनेर पनि भन्नुहुन्छ रे । त्यो उहाँको र समग्र मधेशको हितमा पनि छैन । उहाँले बुझ्नु हुन्छ कि हाम्रो मानसिकता के छ र अहिलेको सरकारले ल्याएको नीति के छ भनेर राम्रोसँग बुझ्नुहुन्छ । त्यसैले उहाँले अलग तराई÷मधेश किन भन्नुभयो त्यो मैले बुझ्न सकिरहेको छैन । हिजोको गोइतजी जुन रूपमा हुनुहुन्थ्यो मधेशी जनताको लागि लड्ने आज अलग तराई भनिराख्नु भएको छ, त्यो उहाँको आफ्नो मूल्यमान्यता विपरीत हो । कुनै न कुनै शक्ति केन्द्रले उहाँहरूलाई प्रयोग गरेको छ ।
० तराईका सशस्त्र संघर्षरत केही नेताहरूको  हत्या भइरहेको छ, उनीहरूको हत्यामा तपाईहको नै संलग्नता रहेको कुरा बाहिर आएको छ ?

- हामीले त्यस्तो केही गरेका छैनौ । बरू वार्ताको लागि प्रयत्न गरिरहेका छौं । जेलमा भएका सशस्त्र समूहका सदस्यहरूका नजिकका मान्छेहरूलाई भेटेर वर्ताको लागि वाताबरण मिलाइदिन आग्रह पनि गरेका छौ । अनौपचारिक रूपले हाम्रो सम्पकमा जो÷जो आएका छन् उनीहरूलाई कारवाही नर्गनका लागि सुरक्षा निकायलाइ समेत निर्देशन गरिरहेका छौं आन्तरिक रूपले । यहिबेला हामीले हत्या गर्ने कुरै हुँदैन ।
० तर यहि साताभित्रको कुरा गर्दा तीन जना सशस्त्र नेताहरूको हत्या भएको छ नि ?
- नियमित सुरक्षा कारवाहीमा हत्या भएको हुनसक्छ तर, मेरो जानकारी अनुसार सीमा पारी केही घटनाहरू भएको मिडियाहरूबाट थाहा पाएको छु । त्यो कुरामा सरकारको कुनै संलग्नता छैन ।
० तपाईले नेपाली सेनालाई प्रस्ताव गरेको समायोजन सम्बन्धी खाकामा समर्थन गर्नुभएको जस्तो कुरा आएको छ ?
-  अहिले सेना समायोजन चार वटा मोडालिटिमा हुँदैछ । पहिलो कुरा अलग माओवादी सेनाको मात्रै फोर्स बनाउने, दोस्रो कुरो माओवादी सेना, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीका साथै नयाँ भर्ती लिएर एउटा नयाँ फोर्स बनाउने मिश्रित खालको फोर्स बनाउने, तेस्रो कुरो मिश्रित फोर्स बनाउने तर नेपाली सेनाभित्र राखेर महानिर्देशनालय बनाउने, चौथों कुरो एक–एक जना विभिन्न सुरक्षा निकायहरूमा समायोजन गर्ने यी चारवटा मोडालिटिमा बहस भइरहेको छ ।
० मन्त्री भएपछि मन्त्रालयको आन्तरिक व्यवस्था कसरी हेर्नुभएको छ ?
-  अहिले एक महिना मात्र भएको छ, सबै कुरो एकैसाथ बुझ्ने कुरा पनि हुँदैन । तर, पनि म आफै चार वर्ष शान्ति प्रक्रियाको पार्टीको र  जनमुक्ति सेनाको तर्फबाट  शान्ति प्रक्रियामा सहभागि छु । राजनीति तहमा हुने शान्ति, पुनर्निर्माण, सेना समायोजन, पुनःस्थापनाका मुद्दाहरूमा एकदम नजिकै रहेर राष्ट्रिय–अन्तर्राष्ट्रिय बहसहरू सहभागि भएको अवस्थासँग नजिक रहेको हुनाले यो मन्त्रालय पारिवारिक नै छु । त्यसैले यसले गर्ने राहत, पुनर्निर्माण, पुनःस्थापना र द्वन्द्व व्यवस्थापनका कामहरू मैले गर्दै आएको हुनाले खासै जानकारी नभएको वा अप्ठ्यारो विषय होइन ।
० आन्तरिक ब्यवस्थाहरूमा केही फेरबदल गर्नुपर्ने केही देख्नुभयो ?
- आउँदा÷आउँदै फेरबदल गर्ने चलन पनि छ तर अहिले नै फेरबदल गर्ने त्यस्तो केही सोचेको छैन । मैले कर्मचारीतन्त्रसँग अनुरोध गर्दै आएको छु कि हामी ब्रिटिश मोडेलमा छौं, कुनै पोल्टिकल आइडोलोजी फिलोसोपीको सरकार आउँछ उसलाई निःशर्त सहयोग गर्नुपर्छ ।

० पूर्वमन्त्रीहरूको के–कस्ता कार्यहरू सम्हाल्नु भयो तपाईले ?
-   पूर्वमन्त्रीको काम हेर्ने फुर्सदै छैन । मैले त नयाँ के गर्ने, कसरी बाँकी कामहरू गर्ने, सेना समायोजनका कार्य कसरी गर्ने भन्ने कुरामा लागिरहेको छु ।

० त्यसोभए नेपाली जनताको लागि केही नयाँ नियमहरू ल्याउँदै हुनुहुन्छ त ?

- खासमा अहिले राहत वितरण एकदम अवैज्ञानिक छ । राहत भनेको राज्यले सोझै पीडितको घर–घरमा पुग्ने खालको फास्ट ट्रयाक मोडलमा हुनुप¥यो । अहिलेको फास्ट ट्रयाकमा ९–१० वर्ष लाग्ने रहेको छ त्यसलाई एकै वर्षमा वितरण गर्ने व्यवस्था मिलाइरहेका छौं ।


० यता तपाई शान्तिमन्त्री, पार्टीमा सैनिक इन्चार्ज हुनुहुन्छ कसरी भ्याउनुहुन्छ ?
- पहिले म सेना समायोजन तथा सुरक्षा ब्युरोको इन्चार्ज थिएँ अहिले पनि छु । यता पनि सेना समायोजनमा पुनःस्थापना गर्ने, सुरक्षा निकायसँग सम्बन्धित काम गर्ने उता पनि जिम्मा भएको हुनाले अब जिम्माहरू केही फेरबदल हुन सक्छ ।
० तपाई शान्तिमन्त्री, शान्ति बहाली गर्नको लागि र तपाईकै पार्टीबाट खोलिएको अहिलेको जनस्वयं सेवकले थर्काउने काम शुरू गरिसकेको छ भन्ने कुराहरू संचार माध्यममा आएको छ नि ?
-  थर्काउँदैन । खासमा जनस्वयम् सेवक पिपुल्स भोलेन्टियर बनेको छ सरकारलाई सपोर्ट गर्ने गरी । यस्तै विकास निर्माणका कामहरू कानूनको दायरामा रहेर सरकारलाई सहयोग गर्ने गरी लाखौं लाख युवा हामीसँग आबद्ध छ ।
० माओवादी पार्टीभित्रको द्वन्द्वलाई कसरी लिनुभएको छ ?
- भर्खरै हामी सिन्धुपाल्चोकको सुकुटेमा बैठक बस्यो त्यसमा जुन विवादको कुरा छ त्यो बेकारको कुरा छ । हामी जनतालाई अपील गरेका छौं कि हाम्रो पार्टी फुट्दैन ढुक्क हुनुहोस ।
० तपाईको पाटी भित्र यसपालीको एकदम जोरले चलेको हावाहुरीको कारण के थियो होला ?
-  त्यो बाहिरबाट चलाइएको हो । ६० वर्षदेखि शक्तिमा पुगेका कुनै पनि पार्टी बचेको छैन । हाम्रो पार्टी बाँकी छ यसलाई पनि फुटाउन अनेकौ कोशिस गरिरहेका छन् । यद्यपि यसमा अलिअलि भएका विवादलाई तन्काएर फुटोस् या अविश्वास होस् भन्ने सम्म पनि प्रचारवाजी भइरहेको छ, हामी त्यो सपना सफल हुन दिँदैनौं ।
० तपाईले भन्नुभयो सत्तामा पुगेका पार्टीहरू फुटेको छ, यसको मतलब तपाईको पार्टी पनि फुट्छ ?
- हामी फरक पार्टी हौं, सबै सरकार रहँदा फुट्यो तर हामी नौ महिना सरकारमा रहयौं तर नफुटेर फर्कयौं ।
० अन्त्यमा तपाई एउटा मन्त्री भएको नाताले जनतालाई के भन्न चाहनुहुन्छ ?
- धैर्यतापूर्वक शान्तिप्रक्रियालाई अगाडि बढाऔं, संविधान लेखन प्रक्रियालाई जिम्मेवारीपूर्वक अगाडि बढाऔं र यसमा  सरकारले प्रयत्न गरि राखेको छ । शान्ति र संविधानलाई निश्कषमा पु¥याउन प्रयत्नरत छौ ।

प्रस्तुति ः बी.पी.साह

 

No comments:

Post a Comment